धागो चुडिएको चंगा थिएं
तिमी आए देखि हो चरा जसरी भुर्र उड्न थालेको
गगनमा
मानी बिनाको जाँतो थिएं
तिमी आए देखि हो घुम्न थालेको आँगनमा,

डोरी बिनाको चर्खा थिएं
मौसम बिनाको बर्षा थिएं
तिमी आए देखि हो जिविको पार्जन सुरू गरेको चर्खाले
तिमी आए देखि हो कुरा काट्न छाडेको अर्काले !
मगमग फूल फुल्न थाले डिलमा
खुसीको राज सुरू भो दिलमा
अचेल त झ्यालबाट जिस्काउँछ जूनले
अकवरी कसीको चमक देखाउदैन सुनले !
धेरै कुरा वदलिएको छ सहरमा
कलकल पानी बगिरहन्छ नहरमा
डुंगाले माझी पाएको छ
रथले सारथी पाएको छ
ढुंगामा आत्मा भरिएको छ
माटोको साथ दह्रिएको छ !
तिमी आउनु अघि पो
आँसुको सिचाइँ चल्थ्यो
दुस्खको रजाइँ चल्थ्यो
मुटु ह्वारह्वारती जल्थ्यो
पाईलै पिच्छे नौनाडी गल्थ्यो !
आँखामा सपना हैन आंसु भरिन्थ्यो
हृदयमा आँट हैन त्रास थपिन्थ्यो
बोटहरू अंकुराउँथे नफुल्दै ओईलाउथें
हाँगा हाँगामा ऐजेरू फैलाउँथे
प्रयासहरू विफल हुन्थे
लक्ष्यहरू बाटो मै रून्थे !
तिमी आए देखि हो
कलममा मसि नहुनुको अर्थ थाहा भएको
तिमी आए देखि हो
पानामा अक्षर नपोतिनुको रहस्य थाहा पाएको !
तिमी आए देखि हो जिन्दगीमा खुसी लाम लाएको
तिमी आए देखि हो हृदयमा पारिलो घाम लाएको !
शेखर विकल्प
