आउँदो शुक्रबार अर्थात् अंग्रेजी तारिख अनुसार फेब्रुअरी १४, पश्चिमा संस्कृतिअनुसार ‘भ्यालेनटाइन डे’ अर्थात् प्रेम दिवसको अवसर पारेर प्रेममा आधारित नेपाली चलचित्र ‘लभ डायरीज’ प्रदर्शनमा आउने भएको छ। देशैभर प्रदर्शनमा आउने लभ डायरीजमा युवायुवतीको प्रेम, रोमान्स र विछोडको कथा समेटिएको निर्माण पक्षले जनाएको छ।चलचित्र पत्रकार संघ कास्कीले बुधबार आयोजना गरेको पत्रकार सम्मलेनमा नायक सुशिल श्रेष्ठ र रुविना थापा दुबैले यो फिल्ममा युवाहरुको कथा रहेको बताए। ‘प्रेम एकअर्कालाई हौसला प्रदान गर्ने माध्यम हो’, नायक श्रेष्ठले भने, ‘आशा छ हामीलाई दर्शकको माया मिल्नेछ।’

होस्टेल रिर्टन्स चलचित्रबाट डेब्यु गरेका श्रेष्ठले सायद २, कारखाना, बादशाह जुट लगायतका चलचित्रमा अभिनय गरेका छन्। चलचित्रमा उनी एक प्रेमीको भूमिकामा छन्। चलचित्रकी डेब्यु नायिका रुबिना थापाले लभ डायरीजबाट आफुले दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताइन्। चलचित्रमा अश्लिल विषय केही नरहेको र परिवारसहित हेर्न जान सकिने उनले जानकारी गराइन्।उक्त चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन्। चलचित्रमा सुशिल श्रेष्ठ, रुविना थापासहित विश्वजित रिमाल लगायतका कलाकारको अभिनय छ। अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा गायकगायिका सुगम पोखरेल र स्वेच्छा ठकुरीले आवाज दिएका छन्।
