एकअर्काको प्रेममा रहेका अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेपछि घरमै बस्दै आएका छन्। उनीहरूले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै सम्पूर्ण नेपालीलाई कोरोनाको संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

घरभन्दा बाहिर ननिस्कन उनीहरूको आग्रह छ।भिडियो सन्देशमा अभिनेत्री सृष्टि श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट बच्न अहिलेको अवस्था ‘सेल्फ आइसुलेसन’ बस्न आवश्यक रहेको बताएकी छन्। ‘सेल्फ क्वारेन्टाइन’ लाई सदुपयोग गर्न पनि उनको सुझाव छ। यो समयमा परिवारसँग समय बिताउन, योगा गर्न र सिर्जनात्मक कार्य गर्न सल्लाह दिँदै उनले कोरोनाको लक्षण देखिए तुरुन्तै अस्पताल जान पनि सुझाव दिएकी छन्।
त्यस्तै अभिनेता सौगातले कुनै कार्य गर्नुभन्दा अगाडि वा पछाडि अनिवार्य रूपमा हात धुन आग्रह गरेका छन्। उनले राम्रोसँग हात धोएर मात्र खाना खाने वा अनुहारमा छुने काम गर्न भनेका छन्। कोरोनाको संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न उनको अनुरोध छ।
