नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) भित्र रहेको सिनेमा हल अब चलाइने भएको छ। दरबार हत्याकाण्ड २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको सेतोपाटी अनलाइनले लेखेको छ। दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।
तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनुपहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो।२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालन गर्न थालिएको हो। नारायणहिटी दरबार तथा गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले केही दिनदेखि दरबारभित्र रहेका विभिन्न डकुमेन्ट्री र इभेन्टहरूका रिल सफा गर्ने काम भइरहेको बताउनुभयो।
‘केही समयभित्रै फिल्म हल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ,’ दाहालले भन्नुभयो, ‘रिलहरू प्रोसेसिङका काम भइरहेका छन्।’अधिकांश रिल चल्ने अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो। रिलहरू प्रोसेसिङ गर्न विशेषज्ञसँग परामर्श गरिएको उहाँको भनाइ छ।‘०५८ सालदेखि नचलेका रिलहरूलाई प्रोसेसिङ गर्दैछौं। सफा गर्दैछौं,’ उहाँले भन्नुभयो, ‘सबै रिल राम्रो र चल्ने भएमा वैशाखतिरबाट फिल्म हल चलाउँछौं।’
दरबारभित्र रहेको यो हलमा बजारमा चल्ने फिल्म हेर्न भने पाइने छैन। दरबार संग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म, डकुमेन्ट्री हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ।‘वैशाखमा हामी बग्गी प्रदर्शन गर्छौं। राजा वीरेन्द्रले शुभराज्याभीषेकमा प्रयोग गरेको बग्गी सर्वसाधारणका लागि प्रदर्शनीमा राख्छौं,’ उहाँले भन्नुभयो। वीरेन्द्रको विवाहको भिडिओ खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी छ।
Comments
0 comments